काठमाडौं-नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले शिक्षा क्षेत्रमा सरकारले गरेको लगानीको प्रतिफल बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आज पदबहाली गर्दै उनले आगामी बजेटमा शिक्षा क्षेत्र सुधारका मुद्दाका विषयमा कार्ययोजना पेश गर्ने निर्णय गरे ।

उनले भने, “शिक्षामा हाम्रो धेरै लगानी छ । प्रतिफल नआएको हैन, आइरहेको छ । तर लगानीअनुसारको प्रतिफल देखिँदैन । अब प्रतिफलको विस्तार, सुधार र सुदृढिकरणका काम अघि बढाउनेछौँ ।”

मन्त्री राई गत मङ्सिर ४ को प्रतिनिधिसभा निर्वाचमा सुनसरी–१ बाट निर्वाचित भएका थिए । मन्त्री राई विसं २०४८ र २०५१ सालमा खोटाङ्बाट नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।