काठमाडौं - स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगमा फराकिलो जित दर्ता गरेको छ । गएराति भएको खेलमा रियलले युक्रेनी क्लब साख्तर डोनेक्समाथि उसकै मैदानमा ५–० को सानदार जित निकालेको हो । 

रियलको जितमा ब्राजिली युवा विंगर भिनिसियस जुनियरले दुई गानेल गरेका थिए । त्यस्तै, रोड्रिगो र कप्तान करिम बेन्जेमाले समान एकएक गोल गर्दा एक गोल उपहार पाएको थियो ।

रियलले मध्यान्तर हुन सात मिनेट बाँकी रहँदा सेर्गे क्रिभट्सोभको आत्मघाती गोलबाट अग्रता लियो । खेलको ५१औं मिनेटमा भिनिसियले पहिलो गोल गर्दा दोस्रो ५६ मिनेटमा सम्भव भयो । 

रोडरिगोले ६५ औं मिनेटमा रियलका लागि चौथो गोल गरे भने करिम बेन्जेमाले इन्जुरी समयमा गोल थप्दै रियलको जित थप फराकिलो पारे । 

जितसँगै रियल ३ खेलबाट ६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । शिर्ष स्थानमा रहेको एफसी सेरिफको पनि समान ६ अंक नै रहेपनि हेड टु हेडमा अगाडी छ । पराजित साख्तर १ अंक जोडेर पुछारमा छ ।

मंगलबारै भएको समूह डी को अर्को खेलमा इन्टर मिलानले घरेलु मैदानमा एफसी सेरिफमाथि ३-१ को जित हासिल गर्‍यो ।