काठमाडौं - आइसिसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक श्रङ्खलाअन्तर्गत ओमानमाथि नेपालले शानदार जित हात पारेको छ । 

ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाल ७ विकेटले विजयी भएको हो । ओमानले प्रस्तुत गरेको १२२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । 

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अविजित ५२ रन बनाए । ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले क्रमश: ६ र ४० रन जोडे । रोहित पौडेलले ६ रनको योगदान गरे । 

ओमानका लागि कालेमुल्लाहा र नेस्टोर धाम्बाले एक/एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको ओमानले ३७.१ ओभरमा १० विकेट नै गुमाएर १२१ रन बनाएको थियो । 

ओमानका लागि ओपनर जतिन्द्र सिंहले १३, सुफियान मिहम्मदले ४, आउन खानले ७, मोहम्मद नादिमले ४, जिसान म्याकसुदले रन ४१ बनाए । सन्दिप गुदले ८ रन बनाउँदा नसिम खुशी र कालेम्मुल्लाहाले क्रमश: ११ र १२ रन बनाए । बिलाल खानले ९ रन बनाए । सुरज कुमार र नेस्टोर धम्बा शून्यमै आउट भए । 

नेपालका लागि करन केसी र सन्दिप लामिछानेले ४/४ विकेट लिए । शरद भेस्वाकरले दुई विकेट लिए । 

लिग २ शृंखलाको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग पराजित नेपाल शुक्रबारसमेत अमेरिकासँग ६ विकेटले पराजित भएको थियो । 

लिग २ मा नेपाल ८ खेलमा ८ अंक जोडेर चौथो स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।