स्कर्टिङ गरेर कार्यकर्तालाई काठमाडौं ल्याउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन
काठमाडौं - नेकपा ओली पक्षले आयोजना गरेको प्रदर्शनलाई सहजीकरण गर्न गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायलाई निर्देशन दिएका छन् । आफ्नो पक्षको शक्ति प्रदर्शनमा बाहिरी जिल्लाबाट आउनेहरुलाई काठमाडौं उतार्न गृहमन्त्री थापाले निर्देशन दिएका हुन् ।
बुधबार सुरक्षा निकायका उच्च अधिकृतलाई मन्त्रालयमा बोलाएर बाहिरबाट ठूलो संख्यामा कार्यकर्ता ल्याउने तयारी रहेकोले उनीहरुलाई जसरी पनि ल्याउन थापाले निर्देशन दिएको स्रोतले बताएको छ ।
बुधबार मात्र प्रचण्ड-नेपाल पक्षको नेकपा केन्द्रीय संघर्ष समितिले बिहिबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । आमहड्तालले शक्ति प्रदर्शनलाई असर नपरोस् भनेर प्रहरीलाई स्कर्टिङ गरेर भएपनि कार्यकर्तालाई काठमाडौं उतार्न निर्देशन दिइएको एक उच्च प्रहरी अधिकृतले जनतापाटीलाई जानकारी दिए ।
वाग्मती प्रदेश कमिटीले आयोजना गरेको उक्त जनसभाको तयारीका लागि पार्टीका सबै जनसङ्गठन परिचालन समेत गरिएको छ । सभा सफल बनाउन युवा, विद्यार्थी, किसान, महिला, बुद्धिजीवी, प्रेस, शिक्षक, अपाङ्गतालगायत पेशा र क्षेत्रका जनसङ्गठनलाई परिचालन गरेको हो ।
सङ्गठनले सो दिन काठमाडौँका माइतीघर मण्डला, त्रिपुरेश्वर, जमल, पुतलीसडक, घण्टाघरलगायत विभिन्न तोकिएका स्थानमा भेला भई आफ्नो ब्यानर र झाँकीसहित उपस्थिति जनाउने प्रदेश कमिटीका अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए ।
काठमाडौँको ट्राफिक आवागमनलाई सहजतासमेत तुल्याउन आयोजनास्थल नारायणहिटी दरबार सङ्ग्रहालयको दक्षिण ढोकातर्फको सडकलाई चयन गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस