काठमाडौं,ललितपुर - संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीले निजामती सेवा अस्पतालमा राष्ट्रिय व्यक्तित्वलाई निजामती सरह सुविधा दिने तयारी भइरहेको बताएका छन् । 

राष्ट्रिय समावेशी म्युजिक अवार्ड वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मोदीले राष्ट्रिय व्यक्तिहरुको सम्मानका लागि उपचारमा निजामती सरह सुविधा उपलब्ध गराउने तयारी भइरहेको बताएका हुन् 

“तपाईँहरूको लागि सरकारको तर्फबाट गर्न सक्ने सहयोग र समन्वय गर्न म सदैव तत्पर छु” मन्त्री मोदीले भने, “हाम्रो मन्त्रालय अन्तर्गतको निजामती सेवा अस्पतालमा अहिले निजामती सेवाकाले मात्रै सुविधा पाउँछ । अब त्यहाँ राष्ट्रिय कलाकार, राष्ट्रिय खेलाडी, सहिद तथा बेपत्ता परिवारलाई निजामती सरह सुविधा दिने गरी कार्यविधि बनाउँदैछौँ ।”  राष्ट्रिय व्यक्तित्वहरुको सम्मानका लागि आफूहरूले यो काम गर्न लागेको मन्त्री मोदीको भनाई थियो । 

आर्थिक समस्याका कारण कलाकारहरूले जीवनको उतराद्र्धमा उपचार समेत गर्न नसक्ने अवस्था सिजर्ना भएको भन्दै मन्त्री मोदीले भने, आर्थिक अभावले तपाइहरूलाई निराश लान सक्छ, राज्यका लागि पुर्‍याएको योगदानको मूल्यांकन भएन कि भन्ने पनि तपाइहरूलाई लाग्छ । तपाईहरुसहित राष्ट्रिय व्यक्तित्वहरुको सम्मानमा निजामती अस्पतालमा निजामती सरह उपचारमा सुविधा दिने हाम्रो तयारी छ, तपाईँहरूको कलाको राज्यले उचित सम्मान गर्छ ।” मन्त्री मोदीले समाजमा कर्मचारीले हेर्ने दृष्ट्रिकोण परिवर्तन गर्ने समेत बताए ।