काठमाडौं,एजेन्सी - म्यान्मारमा सैन्य कूविरुद्धको प्रदर्शनमा सुरक्षा फौजले गोली चलाउँदा ३८ जना प्रदर्शनकारीहरू मारिएका छन् । गत महिना सैन्य कू भएयताकै सबैभन्दा घातक दिनको रूपमा आइतवार भएको बताइएको छ । 

बीबीसीका अनुसार मुख्य शहर याङ्गुनको एउटा औद्योगिक क्षेत्रमा भएको झडपमा कम्तीमा २१ प्रदर्शनकारीहरू मारिएको जनाएको छ भने बाँकी मृत्यु देशका विभिन्न भागमा भएका हुन्। प्रदर्शनकारीहरूले लाठी र छुरीको प्रयोग गरेपछि सुरक्षा फौजले गोली चलाएको बताइएको छ । 

आङ सान सू ची लगायत तत्कालीन सरकारका नेताहरूलाई अपदस्थ गरिनुका साथै उनीहरूलाई बन्दी बनाएर गत फेब्रुअरी १ देखि सेनाले सत्ता हातमा लिएपछि म्यान्मारमा व्यापक रूपमा शान्तिपूर्ण प्रदर्शन भइरहेका छन्।

त्यसलाई अस्वीकार गर्ने कतिपय सांसद्हरूले भूमिगत रहेर आन्दोलन अगाडि बढाइरहेका छन्। चीनले म्यान्मारको सेनालाई सहयोग गरिरहेको प्रदर्शनकारीहरूले बताउँदै आएका छन् ।