काठमाडौं - जापानलाई ५ विकेटले पराजित गरि नेपाल ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा समूह ‘बी’ को विजेता बन्दै सुपर सिक्समा प्रवेश गरेको छ । नेपालले १ सय ३२ रनको लक्ष्य १८ ओभरमा पुरा गरेको थियो ।

नेपालले समूह ‘बी’ को पहिलो खेलमा बुधबार कुवेतलाई ५८ रनले पराजित गरेको थियो । जापानले बिहीबार कुवेतलाई ५ विकेट गरेको थियो । जसको कारण नेपाल र जापान दोस्रो चरणमा पुगेका थिए भने कुवेत समूह चरणबाटै बाहिरिएको थियो ।

समूह विजेता बनेर गएकाले नेपालसँग अतिरिक्त २ अंक हुनेछ । नेपालले सुपर सिक्समा आइतबार समूह ‘ए’ को विजेतासँग र सोमबार कतारसँग खेल्ने छ । त्यसपछि थप दुई खेल समूह ‘सी’ को विजेता र उपविजेतासँग खेल्ने छ । सुपर सिक्सका शीर्ष ३ टोली फेब्रुअरी–मार्चमा भारतमा हुने ट्वान्टी–२० विश्वकपमा पुग्ने छन् ।

कुशल भुर्तेल र आसिफ शेखले ५ ओभरमा ३६ रन जोडेर नेपाललाई राम्रो सुरुआत दिलाए । पाँचौं ओभरको अन्तिम बलमा शोमा स्लेटरले भुर्तेललाई २१ रनमा आउट गरे । भुर्तेलले ३ चौका प्रहार गरे । आसिफले २१ बल खेलि १ चौका र ४ छक्कासहित ३८ रन बनाए । सन्दीप जोराले ७ बल खेलि ५ र कुशल मल्ल ६ बल खेलि ४ रनमै आउट भए ।

कप्तान रोहित पौडेलले १९ बल खेलि १ चौकासहित १८ रन बनाए । गुलशन झा २८ र दीपेन्द्रसिंह ऐरी १४ रन बनाई अविजित रहे । गुलशनले २० बल खेलि १ चौका र २ छक्का तथा दीपेन्द्रले १४ बल खेलि १ चौका प्रहार गरे । जापानबाट स्लेटरले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए ।

यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको जापानले निर्धारित २० ओभर खेलि ८ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो ।

दीपेन्द्रले एउटा अर्को सिधा थ्रोमा अभिषेक आनन्दलाई चौथो ओभरमा १ रनमा रनआउट गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए । तर केन्डेल काडोवाकी–फ्लेमिङ र इसाम रहमानले दोस्रो विकेटमा ८६ रनको साझेदारी गरेपछि जापानले उत्कृष्ट पुनरागमन गरेको थियो ।

सोमपाल कामीले रहमानलाई १३ औं ओभरमा आउट गरि यो साझेदारी तोडेका थिए । रहमानले २५ बल खेलि १ चौका र २ छक्कासहित ३१ रन बनाए । अर्को ओभरमा गुलशनले काडोवाकीलाई आउट गरेपछि नेपालले खेल नियन्त्रणमा लिएको थियो । काडोवाकीले ४६ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरि ६० रन बनाए ।

इब्राहिम ताकाहासीलाई गुलशनले ४ रनमा बोल्ड गरे । सन्दीप लामिछानेले सबाओरिस र रवीचन्दनलाई र डेक्लन सुजुकीलाई समान १ रनमा आउट गरे । रेओ साकुरानो थोमस ३ रनमा रनआउट भए । बेन्जामिन इटो डेभिस १२ बलमा १७ रन बनाई आउट भए ।

नेपालबाट गुलशन र सन्दीपले २–२ विकेट लिए । गुलशनले ४ ओभरमा २० र सन्दीपले ४ ओभरमा २५ रन खर्चे । सोमपालले ४ ओभरमा २० र नन्दन यादवले ३ ओभरमा १६ रन खर्चेर १–१ विकेट लिए ।