काठमाडौं - पूर्वप्रधानमन्त्री तथा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि संसद् चल्‍न नदिने संकेत गरेका छन् । (आज) शुक्रबार पार्टी कार्यालयमा पार्टी अध्यक्षको कार्यभार सम्हाल्दै ओलीले संसद् चल्न नदिने बताएका छन् ।

अध्यक्ष ओलीले एमालेले निष्कासन गरेका व्‍यक्तिहरूलाई संसदमा राखेर कुनै पनि हालतमा स्वीकार गर्न नसकिनेसमेत बताए ।

‘हामीले निष्कासन गरेका व्यक्तिहररु संसदभित्र राखेर कसरी संसद् चल्न सक्छ ? एमालेले निष्कासन गरेका व्यक्तिहरु फेरि संसदमा आउँछन् भने हामी स्वीकार गर्न सक्दैनौँ,’ नवनिर्वाचित अध्यक्ष ओलीले भने ।

नेकपमा एमालेले माधव नेपाल, झलनाथ खनाललगायतका १४ जना नेताहरूलाई कारबाही गरेको थियो । माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भई संसदमा दर्ता भइसकेको छ।

असअघि पनि एमालेले एकीकृत समाजवादीका सांसदहरुलाई अवैध मान्दै निरन्तर रूपमा संसद् चल्‍न दिएको थिएन । सरकारले २८ मंसिरका लागि संघीय संसदका दुवै सदनको बैठक आह्वान गरेको छ।