एसिड आक्रमण गर्नेलाई कारबाही गर्न नयाँ कानुन बनाउन प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमण गर्नेलाई कारबाही गर्न अध्यादेशमार्फत तत्काल नयाँ कानुन बनाइने बताएका छन् ।
बिहीबार बालुवाटारमा देशभरि एसिड आक्रमणका घटनाहरूमा परेकामध्ये १२ जना पीडितहरूसँग छलफल गर्दै प्रधानमन्त्री ओलीले १५ दिनभित्र कानुन मस्यौदा गरिसक्न कानुनमन्त्री र सम्बद्ध निकायलाई निर्देशन दिएका हुन् ।
उनले एसिड आक्रमणमा संलग्नको सम्पत्ति रोक्का गरी त्यसैबाट पीडितको उपचार खर्च र क्षतिपूर्ति भराउने, भरणपोषण गर्ने, पीडितलाई छिटो अस्पताल पु-याएर उपचार गर्न सबैले सघाउनुपर्ने व्यवस्था कानुनमा गर्ने बताएका छन् । पीडितलाई वीर र शिक्षण अस्पतालमा उपचारको प्रवन्ध मिलाउने र पीडितको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने पनि उनले बताए ।
एसिड आक्रमण पछि पढ्न चाहनेहरूका लागि निःशुल्क पठनपाठनको प्रबन्ध सरकारले गर्ने उनको भनाई छ । हरेक वर्ष सेप्टेम्बर १० लाई एसिड आक्रमण विरूद्दको जागरण दिवसका रूपमा मनाउने गरी अघि बढ्न समेत उनले सबैलाई आह्वान गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस