काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौला दाता समीक्षा संग्रौलाले भेटेकी छन् । मिर्गौला प्रत्यारोपणपछि ओलीलाई भेट्ने समीक्षा पहिलो आगन्तुक हुन् ।

अस्पतालबाट बुधबार डिस्चार्ज भएपछि समीक्षाले ओलीसँग भेट गरेकी हुन् । गत बुधबार दोस्रो पटक प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

पहिलो पटक २०६४ सालमा भारतमा मिर्गौला प्रत्यारोपण गराएका ओलीको दोस्रो पटक स्वदेशमै मिर्गौला प्रत्यारोपण भएको हो।

भेटमा प्रधानमन्त्री ओलीले भाञ्जी नाता पर्ने समीक्षालाई धन्यवाद दिएका थिए । प्रधानमन्त्री ओलीलाई पनि बुधबार नै डिस्चार्ज गर्ने बताइएपनि परिवारको विशेष अनुरोधमा अस्पतालको बसाइ लम्ब्याई बालुवाटारमा तयारी भएपछि मात्रै पठाउने तयारी गरेको अस्पतालले जनाएको छ ।