काठमाडौं - गएरातिको अविरल वर्षाको कारण सिन्धुपाल्चोको बाह्रबिसे नगरपालिका वडा नम्बर ५ जम्बुमा गएको पहिरोको अवलोकन तथा राहत लिएर सिन्धुपाल्चोक प्रस्थान गरेका सभामुख अग्निप्रसाद सापकोटा खराब मौसमका कारण काभ्रेको धुलिखेलबाटै फर्किएका छन् ।

खराब मौसमका कारण सभामुख चढेको हेलिकप्टर गन्तव्यतर्फ जान नसकेपछि धुलिखेलबाटै फिर्ता भएको सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो जानकारी दिएका हुन् । 'मौसम अनुकूल नहुँदा धुलिखेलको आकाशबाट फर्किनु पर्‍यो' न्यौपानेले फेसबुकमा लेखेका छन् ।

गएरातिको पहिरोले जम्बु बजारका १५ घर बगाएको छ । पहिरोमा परी १८ जना बेपत्ता भएका छन् भने २ जनाको शव फेला परेका छन् ।