क्रोएसियामाथि रोमाञ्चक जितसहित स्पेन क्वाटरफाइनलमा
काठमाडौं - स्पेनले युरोपेली च्याम्पियनसिपको क्वाटरफाइनलमा स्थान पक्का गरेको छ । सोमबार राति डेनमार्कको पार्केन एरिनामा भएको रोमाञ्चक खेलमा स्पेनले क्रोएसियालाई ५-३ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो ।
एकै खेलमा ८ गोल भएको खेलको पहिलो हाफमा २ र पछि ६ गोल सम्भव भएको थियो । खेलको २०औं मिनेटमा क्रोएसियाले आत्मघाती गोलबाट सुरुवाती अग्रता बनाएको थियो । स्पेनका मिडफिल्डर पेड्रीले मैदानको बीच भागबाट आफ्नो गोलरक्षक उनाइ सिमोनलाई दिएको पासलाई रोक्ने क्रममा गोलमा परिणत भएको थियो । स्पेनको एकतर्फी आक्रमण भैरहँदा क्रोएसियाले अप्रत्याशित रुपमा अग्रता लिएको हो ।
३८ औं मिनेटमा पाब्लो सराबियाले गोल गर्दै स्पेनलाई बराबरीमा ल्याए । ५७औँ मिनेटमा सेजार एज्पिलीक्वेटाले गोल गर्दै स्पेनलाई २-१को अग्रता दिलाए । त्यसपछि ७६औँ मिनेटमा फेरान टोरेसले गोल गर्दै स्पेनलाई ३-१को अग्रता दिलाए । तर, ८५औँ मिनेटमा क्रोएसियाका मिस्लाभ ओर्सिकले गोल गर्दै खेललाई ३२को अवस्थामा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा मारियो पासालिकले गोल गर्दै क्रोएसियालाई ३-३को बराबरीमा फर्काए ।
त्यसपछि अतिरिक्त समयतर्फ धकेलिएकाे खेलको १००औँ मिनेटमा अल्भारो मोराटाले गोल गर्दै स्पेनलाई ४-३को फराकिलो जिततर्फ अग्रसर बनाए । १०३औँ मिनेटमा मिकेल ओयरर्जाबलले गोल गर्दै ५-३को सानदार पुनरागमन जित दिलाए ।
अब स्पेनले क्वाटरफाइनलमा फ्रान्स र स्विट्जरल्यान्डको विजेतासँग खेल्नेछ । उक्त खेल आजै राति हुँदैछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस