एकीकृत समाजवादीले आज महासचिव चयन गर्ने, क-कसको छ दाबी ?
काठमाडौं - नेकपा (एकीकृत समाजवादी)ले आज बिहीबार महासचिव चयन गर्दैछ ।
मंगलबारबाट जारी केन्द्रीय कमिटी बैठकले पार्टीको संरचना र अन्य पदाधिकारी टुंग्याउन अघि नै महासचिव चयन गर्ने तयारी रहेको नेकपा एसका प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले जानकारी दिए । महासचिवमा कसलाई ल्याउने भनेर छलफल चलिरहेको भन्दै खतिवडाले थपे, 'पुराना-नयाँ पुस्ता दुवैको दाबी छ । हामी छनोट गर्छौं ।'
नेताहरूका अनुसार महासचिवका लागि वेदुराम भुसाल, राजेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, गंगालाल तुलाधार, प्रकाश ज्वाला र विजय पौडेललगायत नेताहरूले दाबी गरेका छन् । तीमध्ये भुसाल, पाण्डे र पौडेलको दाबी सशक्त रहेको नेकपा एसका नेताहरूले बताएका छन् ।
बुधबारको बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रस्ताव सुझावसहित सर्वसम्मतले पारित गरिसकेको छ ।
बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्नेछ । नेकपा (एमाले) बाट अलग भई गठन भएको एकीकृत समाजवादी पार्टीको यो केन्द्रीय कमिटीको पहिलो बैठक हो । पार्टीको हालसम्ममा देशका ५५ जिल्लामा कार्यसमिति गठन भइसकेको छ ।
फेसबुक पेज Like गर्नुहोस