माओवादी केन्द्रकाे बन्दसत्र- प्रचण्डको राजनीतिक प्रतिवेदन प्रस्तुत
काठमाडौं - नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनकाे बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीति प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।
कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनकाे बन्दसत्रमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदन वाचन गरेर प्रस्तुत गरिरहेका हुन् ।
अध्यक्ष प्रचण्डले विभिन्न सात बुँदामा ‘एक्काइसौँ शताब्दीमा समाजवादको नेपाली बाटो, ऐतिहासिक आठौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत प्रतिवेदन’ शीर्षकको राजनीतिक प्रतिवेदन तयार पारेका छन् ।
अध्यक्ष प्रचण्डले प्रस्तुत गरिरहेकाे राजनीतिक प्रतिवेदनमा ‘विषय प्रवेश’को पहिलो बुँदाबाट सुरु गरिएको छ । दोस्रो बुँदामा ‘संक्षिप्त पृष्ठभूमिसहित वर्तमान परिस्थितिको समीक्षा’ समेटिएको छ । त्यसमा ‘अन्तरराष्ट्रिय परिस्थितिको समीक्षा र निचोड’ उल्लेख छ । यस्तै ‘संक्षिप्त ऐतिहासिक पृष्ठभूमिसहित राष्ट्रिय राजनीतिक परिस्थितिको समीक्षा’ गरिएको छ ।
राजनीतिक प्रतिवेदनको तेस्रो बुँदामा ‘विज्ञान प्रविधिको विकास र समाजवादको औचित्य’ समावेश गरिएको छ । चौथो बुँदामा ‘पार्टी इतिहासको संक्षिप्त सिंहावलोकन’ बारे विस्तृत चर्चा गरिएको छ ।
त्यसैगरीे पाँचौँ बुँदामा नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीतिक कार्यनीतिबारे’ समावेश गरिएको छ । छैठौँ बुँदामा ‘समाजवादको आधार निर्माणसँग सम्बन्धित केही सैद्धान्तिक प्रश्नहरु’ बारे चर्चा गर्ने प्रयास गरिएको छ ।
सातौँ बुँदामा ‘पार्टीका तात्कालिक नीति, योजना र कार्यक्रमको रुपरेखा’ शीर्षक दिएर पार्टीले आगामी दिनमा लिनुपर्ने बाटो र कार्यक्रमबारे प्रष्ट पार्ने प्रयास गरिएको माओवादीका नेताहरुले जानकारी दिएका छन् । सो राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुने जनाइएको छ ।
अध्यक्ष प्रचण्डले सशस्त्र द्वन्द्व र जनआन्दोलनपछि नेपाली जनताले प्राप्त गरेका उपलब्धि उल्ट्याउन अझै पनि निरङ्कुश तत्वहरुले टाउको उठाइरहेको विश्लेषण गरेका छन् । यस्तै उनले नेपाली पुँजीवादी क्रान्तिको मौलिकता र समाजवादी क्रान्तिको रणनीति कार्यनीतिको बारेमा प्रष्ट्याउने प्रयास गरेका छन् ।
बन्दसत्रमा कूल एक हजार ६ सय बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् । सबै क्लस्टर मिलाउँदा त्यो सङ्ख्यामा अझै केही वृद्धि भएको बताइएको छ । सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक प्रदेशबाट प्रतिनिधि सम्मेलनमा सहभागी छन् ।
माओवादीको आइतबार बिहान बसेको केन्द्रीय समिति बैठकले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेको छ। ती प्रस्तावलाई महाधिवेशनले अनुमोदन गर्नेछ ।
आइतबारबाट सुरु भएको सो महाधिवेशन १५ पुससम्म चल्नेछ ।
फेसबुक पेज Like गर्नुहोस