काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा (भोलि) आइतबार भारतको औपचारिक भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री मोदीको आइतबार नै नयाँ दिल्लीमा हुने शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उनीबीच आइतबार नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासका एक अधिकारीले बताए । ती अधिकारीले भने, ‘प्रधानमन्त्रीद्वयबीच सङ्क्षिप्त भेटवार्ता हुनेछ ।’

प्रधानमन्त्री दाहालका साथ उनकी सुपुत्री गंगा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्ती पदम गिरी तथा उच्चपदस्थ सरकारी कर्मचारी रहने छन् । उनी यही जेठ २८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथ ग्रहणमा प्रधानमन्त्री दाहाल सहभागी हुने निर्णय गरेको थियो । प्रधानमन्त्री दाहालले यसअघि गत जेठमा भारतको औपचारिक भ्रमण गरेका थिए ।

यसअघि सन् २०१४ मा प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए । त्यसबेला पाकिस्तानबाहेक दक्षिण एसियाली मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुख समारोहमा सहभागी भएका थिए ।

गत बुधबार प्रधानमन्त्री दाहाल र उनका भारतीय समकक्षी मोदीबीच टेलिफोन वार्ता भएको थियो । त्यस अवसरमा उनीहरूबीच आपसी हित र साझा चासोका विविध विषयमा विचारविमर्श हुनका साथै भएको थियो । प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन अब गठन हुने सरकारसँग साझेदारी एवं सहकार्य गर्न आफू तत्पर रहेको बताएका थिए ।

प्रत्युत्तरमा भारतका प्रधानमन्त्री मोदीले, ‘प्रधानमन्त्री प्रचण्डसँग कुरा गर्न पाउँदा अत्यन्तै खुसी लाग्यो । वहाँको न्यानो शुभकामनाको लागि वहाँलाई धन्यवाद व्यक्त गरेँ, भारत र नेपालबीचको गहिरो र बहुआयामिक साझेदारीलाई सुदृढ गर्ने हाम्रो साझा प्रतिबद्धतामाथि जोड दिँदै हाम्रो सम्बन्धमा सकारात्मक गति कायम राख्ने कुरामा सहमत भयौँ,’ भनेका थिए ।

सात चरणमा भारतमा सम्पन्न लोकसभा निर्वाचन परिणामअनुसार नेशनल डेमोक्र्याटिक एलायन्स (एनडीए) दुई सय ९३ स्थानमा विजयी भएको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले दुई सय ४० सिट जितेको छ ।

एनडिएको समर्थनमा भारतीय जनता पार्टीका नेता मोदीले आइतबार अपराह्न तेस्रो कार्यकालका लागि शपथग्रहण गर्ने निश्चित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति द्रौपदी मुर्मूले प्रधानमन्त्री मोदी र मन्त्रिपरिषद् सदस्यहरूलाई शपथ गराउने कार्यक्रम छ ।