काठमाडौं - पूर्वप्रहरी संगठन प्रमुख मञ्चले सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङकाे अभिव्यक्तिप्रति आपत्ति जनाउँदै कारबाही गर्न प्रधनामन्त्रीको ध्यानाकर्षण गराएकाे छ । नेपाल प्रहरीका पूर्वमहानिरीक्षकहरूको संगठन ‘पूर्व प्रहरी संगठन प्रमुख मञ्च’ ले विज्ञप्ति जारी गर्दै सञ्चारमन्त्री गुरूङले ‘प्रहरी महानिरीक्षकको जिब्रो थुत्नुपर्ने’ भन्दै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकाे हाे ।

मन्त्री गुरूङलाई तत्काल उक्त वचन फिर्ता लिई नेपाल प्रहरी संगठन र प्रहरी महानिरीक्षकसँग क्षमायाचना गर्न र आगामी दिनमा सुरक्षा निकाय उपर टिप्पणी गर्नु पूर्व थप सचेत रहन विज्ञप्तिमा भनिएकाे छ ।

‘बहाल तथा पूर्व सुरक्षाकर्मीको मानमर्दन हुने यस प्रकृतिको घटनाका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई माननीय मन्त्रीज्यूको असंवेदनशील अभिव्यक्तिलाई संज्ञानमा लिनु भई आवश्यक कारवाही गर्नु हुन पनि अनुरोध गर्दछौ’ विज्ञप्तिमा छ,’नेपाल प्रहरी संगठन प्रमुख तथा सकल सुरक्षाकर्मीहरुलाई यस्ता प्रसंगमा अविचलित रही राष्ट्र र आम नागरिकको सेवामा अविछिन्न लागि रहन यस मञ्च ऐक्यबद्धतासहित अपील गर्दछ ।’

नेपालको संविधानले आम नागरिकको अभिव्यक्तिको स्वतन्त्रतालाई सुनिश्चित गरे पनि अभिव्यक्तिको स्वतन्त्रता भनेको निम्छरो भाषिक अराजकता नभएको उनीहरूले उल्लेख गरेको छ । ‘स्वतन्त्रताको उपयोग गरिँदा अर्को पक्षको अधिकारको सीमा अनतिक्रम्य रहन्छ भन्ने सामान्य बुझाइ नागरिकमा हुनुपर्छ, यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो’ मञ्चको विज्ञप्तिमा छ,’पदीय हैसियतमा माननीय मन्त्रीज्यूसँग सबैले शालिन, सुसँस्कृत र पारस्परिक रुपमा सम्मानजनक व्यवहारको अपेक्षा गरेका हुन्छन् । यसको विपरित माननीय मन्त्रीज्यूबाट प्रहरी महानिरीक्षकविरुद्ध अमर्यादित र अशोभनीय शब्दावलीको जुन प्रयोग भयो त्यसले माननीयज्यूको राजनीतिक कद घटाएको छ भने नेपाल प्रहरी जस्तो गरिमामय र नेपाल सरकारको सबैभन्दा सकृय संगठनको नजरबाट माननीयज्यू गिर्नु भएको छ ।’