काभ्रेपलाञ्चोक - इन्द्रावती नदीले बगाउँदा मण्डनदेउपुर नगरका १२ वर्षीय बालकसहित तीन बेपत्ता भएका छन्। काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक सीमा भएर बग्ने इन्द्रावती नदीमा शनिबार साँझ दुई पुरुष र शुक्रबार एक बालक बेपत्ता भएका हुन्।

शनिबार साँझ मण्डनदेउपुर नपा–१० हल्देटारका ३७ वर्षीय चन्द्र लामा र माझीगाउँका ३३ वर्षीय सम्फे माझी नदी तर्ने क्रममा बेपत्ता भएको वडाध्यक्ष विष्णु नेपालले जानकारी दिए। उनका अनुसार शुक्रबार दिउँसो स्थानीय दीपक नेपालीका १२ वर्षीय छोरा अभिषेक इन्द्रावती नदीमै बेपत्ता भएका हुन्। अभिषेक साथीसँगै नदी तर्ने क्रममा बेपत्ता भएका हुन्। 

माझीको सिन्धुपाल्चोकको र्‍यालेमा पनि घर भएका कारण रोपाइँ सकेर साँझ घर फर्कँदा नदी तर्ने क्रममा लामा र माझीलाई बगाएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै नेपालले बताए। उनले भने, 'राति अबेरसम्म उनीहरुको खोजी गरियो, आज बिहानदेखि पुनः खोजीकार्यमा जुटेका छौँ, तर भेट्टाउने सम्भावना न्यून देखिन्छ।' उनका अनुसार शनिबार साँझदेखि स्थानीय प्रहरी तथा सशस्त्र प्रहरीका गोताखोरसमेतले खोजी गर्दा भेट्टाउन सकेको छैन।