बागमती प्रदेशसभा बैठक आजै दुई पटक स्थगित
हेटौंडा-बागमती प्रदेशको प्रदेशसभा बैठक आज मात्रै दुई पटक स्थगित भएको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफलका गर्न आज १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएर ३ बजेलाई सारिएको थियो ।
३ बजेका लागि तय भएको प्रदेशसभा बैठक पनि स्थगित भएर ४ बजे पुगेको छ । यद्यपि, प्रदेशसभा सचिवालयले बैठकको समय परिवर्तन भएको सूचनामा १ बजेबाट ४ लाई सारिएको जनाएको छ ।
१ असारमा ६७ अर्ब ४७ करोडको बजेट प्रस्तुत भएपछि पहिलो पटक १२ असारमा बजेटमाथि छलफलका लागि प्रदेशसभा बोलाइएको थियो ।
तर, बागमती सरकारको नेतृत्व गरिहेको नेपाली कांग्रेसभित्र बजेटको विषयमा भएको विवाद चर्किँदै गएपछि प्रदेशसभा बस्न सकेको थिएन ।
बागमतीका मुख्यमन्त्री बहादुर सिंह लामा र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले बजेट कब्जा गरेको आरोप लगाउँदै आफ्नै सांसदहरु विरोधमा उत्रिएका छन् ।
कांग्रेसका सांसदहरूले आफ्ना योजना समावेश नभएको, बजेटमा बिचौलिया हावी भएको, निर्वाचन क्षेत्रमा सांसदका योजना नपर्ने तर बाहिरबाट आएको त्यहि प्रकृतिको योजना परेकोले छानबिन गर्नुपर्नेलगायतका विषय उठाएका थिए ।
यसअघि बसेको दलको बैठकमा कांग्रेसका सांसदहरुले बजेटमाथिको छलफलमा सहभागी नहुने चेतावनी दिएकाले बैठक स्थगित गरेर १६ असारका लागि तय गरिएको थियो ।
विवाद समाधानका लागि आज साढे ११ बजेबाट बसेको कांग्रेस संसदीय दलको बैठक जारी छ । करिब पाँच घण्टादेखि जारी बैठकमा सहमति हुन नसकेपछि प्रदेशसभा बैठक सञ्चालनमा अन्यौलता देखिएको छ ।
फेसबुक पेज Like गर्नुहोस