काठमाडौं - मुलुकमा बुधबार कोरोना संक्रमण हुनेभन्दा निको हुनेको संख्या बढी देखिएको छ । पछिल्लो २४ घण्टामा एन्टिजेनसहित १९ हजार ३ सय ५२ नमुना परीक्षण गर्दा ६ हजार ७ सय १४ जनामा संक्रमण पुष्टि भएकामा यही अवधिमा ६ हजार ७ सय १६ जना निको भएका छन् ।

संक्रमितभन्दा निको हुनेको संख्या बढ्दो देखिनु राम्रो संकेत भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले सबैले निरन्तर स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गरिरहे मात्र संक्रमण घट्ने पनि स्पष्ट पारेको छ । संक्रमण दर पनि अघिल्लो दिनको तुलनामा कम भएको छ । संक्रमण दर बुधबार ३४.६९ प्रतिशत रहेको छ भने अघिल्लो दिन ३७.६५ प्रतिशत थियो ।

पछिल्लो २४ घण्टामा थप १ सय ४५ जनाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्यामा पनि कमी आएको छ । मंगलबार कुल सक्रिय संक्रमित १ लाख १७ हजार २ सय ६१ थिए भने बुधबार यो संख्या १ लाख १७ हजार ७७ मा झरेको छ । 

कान्तिपुर दैनिकबाट