एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुलाई राष्ट्रपति बन्नबाट रोक्न चीनले जे पनि गर्न सक्ने बताएका छन् । रोयटर्सलाई दिएको एक अन्तवार्तामा चीनलाई आफुलाई अमेरिकाको राष्ट्रपति बनेको हेर्न नचाहेको बताए ।

‘नोभेम्बरमा हुने चुनावमा चीनले मलाई रोक्नका लागि जे पनि गर्नेछ’ ट्रम्पले भने, ‘यसमध्ये एक प्रमाण हो, चीनले कोरोना भाइरस (कोभिड-१९)नियन्त्रणको लागि चालेको प्रयास ।’ट्रम्पका प्रतिस्पर्धीको रुपमा डेमोक्रेटिक पार्टीका जोन बाइडन रहेका छन् ।

ट्रम्पले विश्वभर कोरोना भाइरसको महामारी फैलिनुमा चीनको हात रहेको आरोप लगाउँदै आएका छन् । अहिलेसम्म कोरोनाबाट अमेरिकामा १० लाख बढी संक्रमित र ६० हजारको मृत्यु भैसकेको छ । त्यसको साथै, अमेरिकामा बेरोजगार बढेको छ भने अर्थतन्त्रमा भारी गिरावट आउन देखिएको छ ।

अन्तवार्तामा ट्रम्पले चीनले कोरोना भाइरसबारे समयमै जानकारी दिएको भए, यस्तो भयावह स्थिति नआउने बताए ।अमेरिकाले यो विषयलाई लिएर चीनमाथि अतिरिक्त कर लगाउँछ त ? भन्ने पश्नमा ट्रम्पले भने, ‘म धेरै काम गर्न सक्छु ।’

पछिल्लो समय अमेरिका र चीनको बीचमा महामारीको विषयलाई लिएर द्वन्द्व बढेको छ । यसअघि ट्रम्पले कोरोना भाइरसलाई चिनियाँ भाइरस बताउँदै आएका थिए भने चीनले यो विषयलाई लिएर आपत्ति जनाएको थियो ।