एकैदिन उपत्यकामा ३७७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३७७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा थप ३७७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। सोमबार २२४ जना र मंगलबार २३२ र बुधबार ३०१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।
एकैदिन काठमाडौंका २७० जना, भक्तपुरका ४१ जना र ललितपुरका ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा.गौतमले जानकारी दिए। यस्तै एकैदिन कोरोनाबाट उपत्यकामा २ जनाको मृत्यु भएको छ।
ललितपुरमा एक महिला र काठमाडौंमा एक पुरुष गरी २ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। एकै दिनमा उपत्यकाका २ सहित ८ जनाको कोरोनाबाट मृत्यु भएको छ। मृत्यु हुनेमा ५ महिला र ३ पुरुष छन्। यो सहित मृत्यु हुनेको संख्या १८३ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा १ हजार १ सय ११ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। संक्रमित हुनेमा ३ सय ३४ महिला र ७ सय ७७ पुरुष हुन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ।
मन्त्रालयका अनुसार २४ घण्टामा ५६९ जना डिस्चार्ज भएका छन्। योसँगै कोरोना जित्नेको संख्या २० हजार ७३ पुगेको छ।
फेसबुक पेज Like गर्नुहोस