काठमाडौं - नेपाल आयल निगमले काठमाडौं उपत्यकामा अत्यावश्यक परेका उपभोक्तालाई लक्षित गर्दै आज पनि सात स्थानबाट एलपी ग्यास बिक्रीवितरण गर्ने भएको छ ।

निगमले बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म तोकिएका बिक्री केन्द्रबाट विभिन्न ब्रान्डका ग्यास उपलब्ध गराउने जनाएको छ।

निगमका अनुसार टेकु परिसर, पशु सेवा शाखा चापली (बूढानीलकण्ठ), राधास्वामी परिसर कीर्तिपुर, नयाँ बजार जुडो हल परिसर, तारकेश्वर नगरपालिका परिसर, चन्द्रागिरि नगरपालिका कार्यालय र राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट ग्यास बिक्री गरिनेछ।

टेकु परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम र सागर ब्रान्डका ग्यास बिक्री हुनेछन्। पशु सेवा शाखा चापलीबाट नेपाल, एचपी र भानु तथा राधास्वामी परिसर कीर्तिपुरबाट नेपाल, एचपी, एभरेस्ट, श्रीकृष्ण, साईबाबा र श्रीमाया ब्रान्डका ग्यास उपलब्ध हुनेछन्।

त्यस्तै, नयाँ बजार जुडो हल परिसरबाट नेपाल, एचपी र ओम, तारकेश्वर नगरपालिका परिसरबाट नेपाल र एचपी, तथा चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया ब्रान्डका ग्यास बिक्री गरिने निगमले जनाएको छ।

राष्ट्रिय क्षयरोग केन्द्र ठिमीबाट भने नेपाल, एचपी, सूर्य, सागर, एभरेस्ट, सुगम र एसटिसी ब्रान्डका ग्यास बिक्रीवितरण हुनेछन्।

ग्यास खरिद गर्न उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा देखाउनुपर्नेछ। निगमले ग्यास नपाएका अत्यावश्यक उपभोक्तालाई तोकिएका केन्द्रमा उपस्थित भई ग्यास खरिद गर्न आग्रह गरेको छ।

निगमले ग्यासको आयात नियमित भइरहेको जनाउँदै बजारमा आपूर्ति सहज बनाउन बिक्रेतालाई नियमित रूपमा ग्यास बिक्री गर्नसमेत अनुरोध गरेको छ।

यसअघि शनिबार निगमले काठमाडौं उपत्यकाका विभिन्न बिक्री केन्द्रबाट अत्यावश्यक उपभोक्ताका लागि ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास बिक्रीवितरण गरेको थियो। टेकु परिसर, यातायात कार्यालय चाबहिल, राधास्वामी परिसर कीर्तिपुर, राधास्वामी परिसर वसुन्धरा र पुरानो जिल्ला प्रशासन कार्यालय परिसर बबरमहलबाट ग्यास वितरण गरिएको थियो।

शनिबार वितरणका क्रममा केही ब्रान्डका सिलिन्डर अपुग भएपछि बिक्री केन्द्रमा समयमै पुगेका उपभोक्तालाई कुपनमार्फत पहिलो प्राथमिकतामा राखी ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको निगमले जनाएको छ।