चार निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी
काठमाडौं - प्रतिनिधिसभातर्फ एक सय ६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म एक सय ६१ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । अब मात्र चार निर्वाचन क्षेत्रको नतिजा आउन बाँकी छ । जसमध्ये सुनसरी ४ मा मतगणना अन्तिम चरणमा पुगेको छ । सो क्षेत्रमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीश कुसियैतबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।
बाजुरा र स्याङ्जा २ मा बुधबार साँझदेखि मतगणना सुरु हुने भएको छ । निर्वाचन आयोगले दुवै क्षेत्रमा पुनः मतदान नगर्ने निर्णय गरेसँगै आजैदेखि मतगणना हुने भएको हो । त्यसका लागि अहिले बाजुरा र स्याङ्जा २ मा सर्वदलीय बैठक बसिरहेको र मतगणना सुरु हुने सम्बन्धित निर्वाचन अधिकृत कार्यालयले जानकारी दिएका छन् ।
बाजुरामा कांग्रेसका बद्री पाण्डे र एमालेका कर्णबहादुर थापाबीच प्रतिस्पर्धा छ । स्याङ्जा २ मा कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव पद्मा अर्यालबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै दोलखामा भने बिहीबार पुनः मतदान हुँदैछ । निर्वाचन आयोगले दोलखाका १० मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय गरेको हो ।
निर्वाचन भई मतगणना गर्दा कम्तीमा पाँच दिन लाग्ने भएकाले निर्वाचन आयोगले तोकेको समयभित्र प्रतिनिधिसभातर्फको अन्तिम नतिजा सार्वजनिक हुन ढिलाइ हुने भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस