धनगढीमा विद्यार्थीमाथि प्रहरी दमन
काठमाडौं,धनगढी-धनगढीमा ग्रेडरले कुल्चिएर बिहीबार पञ्चोदय मावि कक्षा ८ मा अध्ययनरत १४ वर्षीया छात्रा चेतना साउदको मृत्यु भयो । धनगढी–५ तारानगरकी साउद बिहीबार बिहान विद्यालय आउँदै गरेकी थिइन् । सोही बाटोमा हसनपुरको पिपलचौतारा नजिक ना १ क ९७५ नम्बरको कालिका कन्स्ट्रक्सनको ग्रेडर लेबल मिलाउँदै थियो ।
ब्याक गर्ने क्रममा साइकलमा सवार साउद ग्रेडरमा ठोक्किन पुगिन् । ग्रेडरको स्पिड धेरै हुँदैन । तर, ग्रेड चालकले कुल्चिएर चेतनाको ज्यान लिए । कुनै गल्तीबिना आफ्नो साथी गुमाउनु परेपछि पञ्चोदयका विद्यार्थी आन्दोलित बने । दोषीलाई कडा कारबाहीको माग गर्दै सडकमै टायर बालेर प्रदर्शन गर्नथाले । दिनभर डिभोटी पिपलचौतारा सडक रणमैदान जस्तै बन्यो ।
प्रहरीले विद्यार्थीहरूमाथि बिहीबार दिनभरजसो बल प्रयोग गरिरह्यो । सरोकारवाला निकाय पनि खासै जिम्मेवार देखिएनन् । जसले गर्दा विद्यार्थीहरूको कलिलो बालमनोविज्ञान थप आक्रोशित बन्न पुग्यो । न्याय दिन माहोल शान्त पार्नुपर्नेमा आफ्नै उमेर नपुगेका साना साथीहरू गिरफ्तार हुन थालेपछि विद्यार्थीहरू थप आक्रोशित बने ।
माहोल अनियन्त्रण बाहिर जाने देखेपछि कैलाली जिल्ला प्रकाशनले बिहीबार साँझदेखि अर्को आदेश जारी नभएसम्मका लागि निषेध आदेश जारी गर्यो । तर, विद्यार्थीको आक्रोशलाई प्रशासनले सम्बोधन गर्न सकेन । त्यसैले उनीहरू निषेध आदेशको अवेज्ञा गर्दै पुनः शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिए। बिहीबार साँझ ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएकोमा यतिवेला विद्यार्थीहरू निषेधाज्ञा आदेश तोड्दै प्रदर्शन गरिरहेका छन् र, उनीहरूमाथि पुनः प्रहरी दमन सुरु भएको छ ।
प्रशासनले पूर्वमा धनगढी उपमहानगरपालिका–१ पुरानो फूलबारी बसपार्क (पुष्पलाल चोक), पश्चिममा धनगढी–४ रातोपुल, उत्तरमा धनगढी–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन र दक्षिणमा धनगढी–१ र २ स्थित हुलाकी राजमार्गलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । विद्यार्थीहरुले डिभोटी चोकमा आन्दोलन गरिरहेका हुन् ।
प्रहरीले विद्यार्थीहरूलाई गिरफ्तार गर्नुका साथै लगाएको लुगा नै च्यातिनेगरी बल प्रयोग गरेकोमा चौतर्फी विरोध भइरहेको छ । सामाजिक सञ्जालमा त झनै प्रहरी दमनको चर्को आलोचना भइरहेको छ । यसले प्रहरी मेरो साथी भन्ने नारालाई कलिला विद्यार्थीहरूले कसरी बुझ्ने र उनीहरूको मानसपटलमा कस्तो प्रभाव पार्ला भन्दै सामाजिक सञ्जालमा प्रश्नसमेत उठेको छ ।
धनगढीकै विद्यार्थी जमुना साउदले दोषीलाई कारबाहीको दायरमा ल्याउनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छन् । शान्तिपूर्ण रूपमा मृतक बालिकाको न्यायका लागि आन्दोलनरत विद्यार्थीको आन्दोलनरतमा प्रहरी दमन निन्दनीय भएको भन्दै उनले दुःख व्यक्त गरेकी छन् । ‘स्कुले बालबालिकालाई कुट्दै, पिट्दै, घिसार्दै गिरफ्तार गर्ने कार्यको घोर बिरोध गर्दछौं,’ उनले भनेकी छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस