एजेन्सी - बलिउड अभिनेत्री कंगना रनौट बेलाबेला विवादमा तानिरहन्छिन् । उनी आफ्नो कतिपय बयानका कारण चर्चामा आइरहन्छिन् । उनी विवादास्पद विषयमा आफ्नो धारणा सार्वजनिक गर्न पछि हट्दिनन् । हालै उनले बलिउड अभिनेता आमिर खानमाथि समेत कटाक्ष गरेकी छन् । अभिनेत्री कंगनाको टिमले ट्वीटर ह्यान्डलमा आमिरको एउटा पुरानो अन्तर्वार्ता सेयर गरेको छ ।

यसमा आमिरले आफ्नो निजी जीवनबारे कुरा गरिरहेका छन् जसमा उनले आफ्नी श्रीमती हिन्दु भएता पनि सन्तानले भने इस्लामको पालना गर्नुपर्ने बताएका छन् । कंगनाको टिमले अन्तर्वार्ताको लिंक सेयर गर्दै आमिरको धर्मनिरपेक्षतामाथि प्रश्न उठाएको छ । त्यस्तै कंगनाको टिमले ट्वीटरमा लेखेको छ, ‘हिन्दूमुस्लिम मुस्लिम । यो त कट्टरपन्थी हो । विवाहको परिणाम जिन वा संस्कृतिको मिश्रण मात्रै नभई धर्मको पनि हो । आफ्ना सन्तानलाई अल्लाहको उपासना पनि सिकाउनुहोस् र श्रीकृष्णको भक्ति पनि, यही धर्मनिरपेक्षता हो नि ?’

विवादास्पद अभिव्यक्ति दिएर चर्चामा आइरहन रुचाउने कंगनाकी आमाले हालै मनालीमा आफ्नो घरमा आफ्नी छोरीको सुरक्षा र कल्याणका लागि पूजाको आयोजना गरेकी थिइन् । कंगनाको समूहले उक्त पूजाको सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गरेको थियो । जसमा उनलाई आफ्नी आमासँग पूजा गरिरहेको देख्न सकिन्छ ।