काठमाडौं - छिमेकी राष्ट्र चीन र नेपालको सिमा नाका तातोपानी र रसुवागढीबाट आउने पर्यटकहरुलाई नेपाल प्रवेशमा रोक लगाइएको छ ।

चीनमा कोरोना भाइरसको सङ्क्रमणले उग्र गति लिएपछि नेपाल–चीन दुवै राष्ट्रको सहमतिमा तातोपानी र रसुवागढी नाकाबाट १५ दिनको लागि नेपाल आउने पर्यटकको लागि रोक लगाइएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार चिनियाँ पर्यटकको आवागमन भइरहेको बेला नेपालमा पनि सङ्क्रमण फैलनसक्न भन्दै आवागमनमा रोक लगाइएको हो । हालसम्म चीनमा १ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने हजारौँमा संक्रमण फेला परेको छ । यस्तो भाइरस नेपालसहित १६ देशमा  देखिएको छ । कतिपय देशले आफ्ना नागरिकलाई फर्काइसकेको छ ।