काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकार संविधानको अक्षर र भावना दुवैप्रति पूर्णरूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले संविधान कार्यान्वयन गर्नेहरू इमानदार र निरन्तर क्रियाशील हुन नसके संविधान कागजमा मात्र सीमित हुने बताएका हुन् । ‘यो संविधानको अक्षर र भावना दुवैप्रति यो सरकार पूर्णरूपमा प्रतिबद्ध छ,’ प्रधानमन्त्री शाहले भने।
उनले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने हात इमानदार नभए संविधानको मर्म व्यवहारमा स्थापित हुन नसक्ने बताए। ‘म प्रस्ट भन्छु, यो सुरुवात हो, अन्त्य होइन,’ उनले भने।
प्रधानमन्त्री शाहले मुलुकमा भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो रहेको उल्लेख गर्दै त्यसविरुद्ध काम गर्ने हातहरू अझ बलियो र धेरै रहेको बताए।
‘भ्रष्टाचार र दण्डहीनताको जरो गहिरो छ। तर, यो जरो उखेल्ने हातहरू बलिया छन्, झन् धेरै छन्,’ उनले भने।
विकासका लागि सुशासन अनिवार्य पूर्वसर्त भएको उल्लेख गर्दै प्रधानमन्त्री शाहले सरकार सुशासन कायम गर्न प्रशासनिक संरचनामा सुधारको काम अघि बढाइरहेको बताए।

.gif)


