काठमाडौं-संघीय संसद्अन्तर्गत कानून तथा मानव अधिकार समितिले सम्पत्ति शुद्धिकरणसम्बन्धी र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई जतिसक्दो छिटो दफाबार छलफलका लागि अघि बढाउने भएको छ ।

सिंहदरबारस्थित समितिको कार्यकक्षमा समितिका ज्येष्ठ सदस्य एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षमा आज बसेको पहिलो बैठकमा उक्त दुई विधेयकलाई जतिसक्दो छिटो अघि बढाउनुपर्ने विषयमा समितिका सदस्यहरुले सुझाव दिएका थिए ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ र सम्पत्ति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐन संशोधन विधेयक समितिमा आएको र दफाबार छलफल गरी निष्कर्षमा पुर्याउनुपर्ने समितिका सभापति देउवाले जानकारी गराए ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले समितिमा आएका दुई विधेयकलाई जतिसक्दो छिटो समितिबाट पास गरेर पठाउनुपर्ने र संक्रमणकालीन न्याय मुलुकको इज्जतको विषय भएकाले महत्वका साथ अघि बढाइदिन आग्रह गरे ।

उक्त विधेयकमा सम्पत्ति शुद्धिकरणसम्बन्धी एक सय पाँच र संक्रमणकालीन न्यायसम्बन्धी एक सय ८६ वटा संशोधन परेको छ । अब समितिमा दफावार छलफल हुनेछ ।

नेकपा (एमाले) का उपाध्यक्ष एवं समितिका सदस्य सुवासचन्द्र नेम्वाङले समितिमा भएका दुई विधेयकलाई तत्काल अघि बढाउनका लागि सबै एकताबद्ध भएको र संक्रमणकालीन न्यायको विषयमा एकमतका साथ अन्तर्राष्ट्रिय मान्यता, सर्वोच्च अदालतको फैसला र पीडितको भावनाअनुरुप ऐन संशोधन गर्नुपर्ने सुझाव दिए ।

सांसदहरु रञ्जु ठाकुर, सोविता गौतमलगायतले समितिको बैठकको कार्यविधि बनाएर उक्त विधेयकलाई अघि बढाउन सुझाव दिएका थिए । समितिका सभापति देउवाले अर्को बैठकमा समितिको बैठकको कार्यविधि तय गरिने र समितिका विधेयकलाई अघि बढाउने जानकारी दिए ।