काठमाडौं - नेपाली कांग्रेसका सांसद विनोद चौधरीले अहिले नेपालको अर्थतन्त्रमा समस्या देखिनुको पछाडि वर्तमान सरकारको कुनै पनि दोष नभएको टिप्पणी गरेका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा आफ्नो धारणा राख्दै उनले अर्थतन्त्र बिग्रनुको पछाडि विगतका सरकारको खराब नीतिको परिणाम भएको बताए ।

उनले भने, “थोत्रो गाडीमा ड्राइभर परिवर्तन हुँदैमा गाडी रफ्तारले चल्दैन । नेपालको खराब अर्थतन्त्र भयो भनेर अर्थमन्त्रीलाई दोष दिनुमा कुनै तुक छैन ।”  वर्तमान सरकारले बजेट पनि नल्याएको सन्दर्भमा दोषमात्र लगाउने प्रवृत्ति गलत भएको उनको भनाइ छ ।

नेपालको अर्थतन्त्र खराब भएको भन्ने तर त्यसलाई लुकाउने प्रवृत्ति देखिएको तर्क गर्दै उनले भने, “हामीले दशौँ वर्षदेखि अर्थतन्त्र खराब भयो भनेर कराइरहेका छौँ । बजेट आउने बेलाबाहेक अन्य कुनै पनि समयमा अर्थतन्त्रको बारेमा कुनै छलफल नै हुँदैन ।”