गण्डकी - जिल्ला प्रशासन कार्यालय, कास्कीले बजारमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि ग्यासको आपूर्ति र वितरणलाई सहज बनाउन पहल थालनी गरेको छ ।

कृत्रिम अभाव र कालोबजारी रोक्न अनुगमन तीव्र पारिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए । पोखरामा रहेका बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न सचेत गराइएको उनको भनाइ छ ।

पोखरामा ग्यास आपूर्ति गर्ने १९ वटा कम्पनीलाई ग्यास आपूर्ति र बिक्रीवितरणलाई सहज बनाउन आग्रह गरिएको उनले बताए । ‘प्रशासनका तर्फबाट समन्वय भइरहेको छ, बजार अनुगमन पनि गरिरहेका छौँ, आजभोलिसम्ममा तीनवटा बुलेट पोखरामा भित्रदैछन्,’ सहायक प्रजिअ बरालले भने, ‘अहिले देखिएको समस्या विस्तारै सहज हुँदैछ, उपभोक्तालाई पनि आश्वस्त हुन आग्रह छ ।’