युरोकप : बेल्जियम समूह विजेता, फिनल्याण्ड अन्तिम-१६ मा पुग्ने सम्भावना
काठमाडौं - १६ औं संस्करणको युरोकप फुटबलमा शत प्रतिशत जित निकाल्दै बेल्जियम समूह विजेता बनेको छ । सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा फिनल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै बेल्जियम समूह विजेता बनेको हो ।
रुसको सेन्ट पिटर्सवर्ग स्टेडियममा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले एक गोल गरे । बेल्जियमले एक गोल आत्मघाती उपहार पाएको थियो ।
पहिलो हाफ गोलरहित बराबरी सकिएको खेलको दोस्रो हाफमा आत्मघाती गोलबाट बेल्जियमले अग्रता बनायो । फिनल्याण्डका गोलकिपर लुकास ह्राडेकीले ७५ औं मिनेटमा आत्मघाती गोल गरे । थोमसको हेडर बल पोस्टमा लागेर फर्किएको बल लुकासलाई लाग्दै गोलमा परिणत भएको थियो ।
त्यसपछि खेलको ८१ औं मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई २-० को जित दिलाए । यस जितसँगै समूह ‘बी’ को बेल्जियमले शतप्रतिशत जित निकाल्दै अन्तिम १६ को यात्रा तय गरेको छ । समूह विजेता बनेको बेल्जियमले ३ खेलमा ९ अंक जोड्यो ।
फिनल्याण्ड भने समूहको तेस्रो स्थानमा रह्यो । फिनल्याण्डले ३ खेलमा ३ अंक जोड्यो । पहिलो पटक युरोकप खेलिरहेको फिनल्याण्डको अन्तिम १६ मा पुग्ने सम्भावना कायम रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस