भारतको जिडिपी २३.९ प्रतिशत खुम्चियो
काठमाडौं - भारतीय अर्थतन्त्र गत अप्रिलदेखि जुनको तीन महीनाको अवधिमा २३.९ प्रतिशतले खुम्चिएको छ।
कोरोना महामारीका कारण विगत ४० वर्षयता पहिलोपटक भारतीय अर्थतन्त्रमा यतिधेरै गिरावट आएको हो।
भारतको राष्ट्रिय तथ्यांक कार्यालयले हिजो सार्वजनिक गरेको विवरणमा त्यस अवधिमा उपभोग्य मागमा कमी आउनुका साथै निजी लगानी समेत खुम्चिएको उल्लेख छ।
कार्यालयको वक्तव्यमा व्यापार, होटल, यातायात र संचार क्षेत्रमा ४७ प्रतिशत गिरावट आएको तथा औद्योगिक उत्पादनमा करिब ३९.३ प्रतिशतले कमी आएको उल्लेख गरिएको छ ।
साथै निर्माण क्षेत्रमा ५०.३ प्रतिशतले घट्नुका साथै खनिज उत्खनन २३.३ प्रतिशतमा सीमित भएको छ। विद्युत र ग्यास उत्पादन ७ प्रतिशतले घटेको छ। तर, अनुकूल मौसमी परिस्थितिका कारण कृषि उत्पादन ३.४ प्रतिशतले वृद्धि भएको छ।
भारत सरकार र भारतीय केन्द्रीय बैंकले अर्थतन्त्रलाई चलायमान बनाउन अर्बौं डलरको राहत प्याकेज, सुधार र व्याजदर कटौती गरेका छन्।
हुनत, भारतको अर्थतन्त्र कोभिड-१९ महामारी शुरु हुनुअघि नै खुम्चिँदै गएको थियो। कोभिड-१९ शुरू हुनुअघि विगत ११ वर्षमा पहिलो पटक भारतीय अर्थतन्त्रको वृद्धिदर ४.२ प्रतिशतमा ओर्लिएको थियो।

.gif)




फेसबुक पेज Like गर्नुहोस