काठमाडौं,एजेन्सी - अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग औपचारिक रुपमा सम्झौता गरेका छन् । हालै क्याटलान क्लब बार्सिलोनाबाट बाहिरिएका स्टार मेस्सी मंगलबार राजधानी पेरिस पुगेर सम्झौता गरेका हुन् । 

३४ वर्षीय मेस्सीले हाललाई पिएसजीसँग २ वर्षको सम्झौता गरेका छन् । उनीसँग थप एक वर्ष सम्झौता लम्ब्याउने विकल्प पनि छ । पिएसजीले फ्रि एजेन्ट मेस्सीलाई २५ मिलियन युरो हस्ताक्षर गरेवापत र प्रति वर्ष २५ मिलियन युरोमा तलब दिने सर्तमा अनुबन्धन गरेको छ । यसअघि १० नम्बर जर्सीमा चर्चित मेस्सीले अब ३० नम्बर जर्सी प्रयोग गर्नेछन् । उनलाई पिएसजीकै स्टार नेयमारले १० नम्बर जर्सीको प्रयोग गर्न भनेपनि अस्विकार गरेका थिए । 

सम्झौताका क्रममा मेस्सीले पेरिसमा रहेर आफ्नो करिअरको नयाँ यात्रा सुरु गर्न उत्सुक रहेको अभिव्यक्ति दिएका थिए । ‘क्लब र मेरो लक्ष्य मेल खान्छ र मेरो लागि यो उत्तम गन्तव्य हो । म क्लबसँग अघि बढेर सफलता हासिल गर्न उत्साहित छु’ उनले भनेका छन् । 

बार्सिलोनामा रहँदा मेस्सीले क्लबका लागि ६७२ गोल गरे भने १० वटा ला लिगाको उपाधि दिलाए । त्यस्तै, उनले चारवटा च्याम्पियन्स लिग र ७ वटा कोपा डेल रेको उपाधि पनि जितेका थिए । उनी ६ पटक बालोन डि’ओर विजेता पनि बने । हालै उनले कोपा अमेरिकाको उपाधि पनि जितेका छन् ।