नेपालमा कोरोनाविरुद्ध खोप अभियान आजदेखि
काठमाडौं - नेपालमा कोरोनाविरुद्धको खोप अभियान आजबाट सुरु हुँदै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा बुधबार बिहान खोपको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले उट्घाटन गरेलगत्तै सातै प्रदेशका अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, खोप केन्द्रमा खटिने सुरक्षाकर्मीले खोप लगाउने छन् ।
भारत सरकारले अनुदानमा दिएको दश लाख डोजको ‘कोभिसिल्ड’ नामक खोप काठमाडौं उपत्यकामा १७ वटासहित देशभर १ सय २० केन्द्रबाट दिइनेछ । स्रोतका अनुसार काठमाडौंमा १२ , भक्तपुरमा दुई र ललितपुरमा तीन अस्पताल गरी उपत्यकाका १७ केन्द्रबाट खोप लगाउन शुरू गरिनेछ । काठमाडौं उपत्यकाबाहिर ६२ अस्पतालअन्तर्गत १०३ ओटा खोप केन्द्रबाट खोप लगाइनेछ ।
उपत्यकामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, काठमाडौं मेडिकल कलेज, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, शहीद धर्मभक्त अंग प्रत्यारोपण केन्द्र, शहीद गंगालाल ह्दयरोग केन्द्र, भक्तपुर अस्पताल, किस्ट मेडिकल कलेज शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, आनन्द वन अस्पताल र नेपाल एपीएफ अस्पतालमा खोप केन्द्र बनाइएको छ ।
पहिलो खोप काठमाडौंको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाउने बताइएको छ । पहिलो चरणमा कुल ४ लाख ३० हजारलाई खोप दिने तयारी छ ।
यो खोप १८ वर्ष उमेर नपुगेकाले लगाउन अनुमति दिइएको छैन । यस्तै, चिकित्सकहरुका अनुसार सुत्केरी, गर्भवती, ६ महिनाभित्रका शिशुलाई, स्तनपान गराइरहेका महिला, आइसियुमा उपचार गराइरहेका सिकिस्त बिरामीले खोप लिनुहुँदैन ।
अन्तर्राष्ट्रिय क्लिनिकल परीक्षणमा यो खोप पुरै मात्रामा दिइएको अवस्थामा ९० प्रतिशतसम्म प्रभावकारी देखिएको छ । दुई मात्राको बीचमा जति लामो समय भयो खोप त्यति प्रभावकारी हुने देखिएको छ ।खोप दिएपछि मानिसको शरीरमा यसले रोग प्रतिरोधी क्षमतालाई सक्रिय बनाउँछ, जसले गर्दा एन्टीबडी बन्छन् र ती कोरोनाभाइरस संक्रमण विरुद्ध लड्छन् । एक जना मानिसलाई यो खोपको दुई मात्रा चारदेखि १२ साताको फरकमा दिइन्छ र यसलाई २ देखि ८ डिग्री सेल्सीयस तापक्रममा सुरक्षित राख्न सकिन्छ ।
फेसबुक पेज Like गर्नुहोस