काठमाडौं - संस्‍कृति, पर्यटन, तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई ‘लाइनमा बस्नू’ भन्दा पक्राउ परेका सुरक्षागार्ड शेरजंग गुरूङ रिहा भएका छन्।

गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि सोमबार अपराह्न जिल्ला प्रशासन कार्यालयले गुरुङलाई साधारण तारेखमा छाडेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

गत शुक्रबार मन्त्री श्रेष्ठ ठमेलस्थित छायाँ सेन्टरमा बायो मेट्रिक दिन पुगेका थिए । बायोमेट्रिक्स दिन अन्य व्यक्तिहरु लाइन बसिरहेका थिए । तर, निजी सुरक्षा अधिकृत (पीएसओ)सहित पुगेका श्रेष्ठ लाइनमा नबसी अगाडि जान खोजेपछि गुरूङले रोकेका थिए । उनले श्रेष्ठलाई लाइनमा बस्न र पालो आएपछि जान अनुरोध गरेका थिए ।

मन्त्रीका पिएसओले उनी मन्त्री भएको बताए पनि गुरूङले जो मानिस भए पनि लाइनमा बस्नु पर्ने बताएपछि त्यहाँ गुरूङ र पिएसओबीच धकेलाधकेलको अवस्था सिर्जना भएको थियो । त्यसलगत्तै प्रहरीले गुरूङलाई पक्राउ गरेको थियो । 

गुरूङमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरी हिरासतमा राखिएको थियो । तर, सुरक्षागार्डले कर्तव्य पालना गर्दा उल्टै थुनाएको भन्दै चौतर्फी आलोचना भएको थियो ।