काठमाडौं,एजेन्सी - कोरोना भाइरस (कोभिड–१९) को संक्रमणका कारण निधन हुनेको संख्या शून्यमा झरेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार पछिल्लो ६ साता यता पहिलो पटक विदेशमा संक्रमणका कारण हुने मृत्यु शून्यमा कायम रहेको हो ।  

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार गत वर्ष देखि विश्वव्यापी रुपमा फैलियो कोरोना भाइरस संक्रमणका कारण गत सातासम्ममा २१ देशमा रहेका ३ सय ४१ जना नेपालीको निधन भएको थियो ।   

 गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सापकोटाका अनुसार यो साता कोरोना संक्रमण दरमा समेत उल्लेख्य रुपमा कमी आएको छ ।  यो साता स्वीडेन, स्पेन, केन्या, युएईमा रहेका थप नेपालीहरुमा सामान्य रुपमा थप कोरोना संक्रमण देखिएको छ ।   

उनका अनुसार हालसम्म ५३ देशमा ६३  हजार ३ सय ७ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६१ हजार २ सय ३७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।  

 यसैबीच,  कोरोना भाइरसका कारण नेपालमा ३ हजार १४ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७५ हजार १ सय ७८ जना भने  २ लाख ७१ हजार २ सय ४९ जना  कोरोनाबाट मुक्त भएका छन् ।  संक्रमणमुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत छ ।