काठमाडौं - कोरोना संक्रमणका कारण बितेको २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिएका हुन् ।

योसँगै कोरोना महामारीबाट नेपालमा मृत्यू हुनेको संख्या ३०० पुगेको छ । आइतबार ९७९ जना कोरोना संक्रमित थपिँदा १ हजार ७३६ जना निको भएर घर फर्किएका छन् ।

आइतबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । अहिले सक्रिय संक्रमित १६ हजार २५९ जना रहेका छन् भने ३० हजार ६७७ जना निको भइसकेका छन् ।

नेपालमा पहिलोपटक गत जेठ ३ गते धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरीको मृत्यु भएको थियो । पछिल्लो समय मृतकको संख्या निरन्तर बढिरहेको छ ।