काठमाडौं - प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा  १ घण्टा २५ मिनेटसम्म पसिना आएको छ । आज मध्याह्न १२ बजेर १५ मिनेटदेखि १ वजेर ३० मिनेट जाँदासम्म शिलामा  पसिना आएको  स्थानीय समाजसेवी  भरत प्रधानले जानकारी दिए ।

यस पटक शिलाको बाँया र बीच   दुबै भागमा पसिना आएको उनले बताए ।  बायाँ पसिना आउँदा  अनिष्ट हुने बताइएको छ  । यस पटक बाँया र बीचभाग दुबैमा आएको छ । भीमेश्वरलाई पसिना आएपछि मन्दिर परिसरमा ठूलो सङख्यामा स्थानीयवासी र श्रद्धालु भक्तजन भेला भएका थिए । भीमेसनको शीलामा पसिना आएपछि स्थानीयवासी भेला भएर घण्टा, नगरा, स्थानीय बाजा बजाउँदै ‘कुनै अनिष्ट नहोस्’ भनेर कामना गर्ने र  शीलालाई चम्मरले हम्किने चलन छ । भीमसेनलाई पसिना आएपछि मुलुक र जनतामा अनिष्ट नहोस् भनेर घण्टा सहित सबै प्रकारका बाजा बजाइन्छ । पसिना आएको खवर सार्वजनिक हुना साथ दर्शनार्थी मन्दिर परिसरमा पुगेका थिए । 

शिलामा आएको पसिनालाई कपासले पुछेर दर्शनार्थीलाई प्रदान गर्ने गरिन्छ ।   साथै  शिलाको पसिना पुछिएको कपास राष्ट्रपति कार्यालयमा पठाउने प्रचलन रही आएको छ ।  पसिना पुछिएको कपास राष्ट्रपति कार्यालयमा पठाउनका लागि जिल्ला प्रशासन कार्यालयले जानकारी समेत गराइसकेको छ ।  आइतबार राष्ट्रपति कार्यालयलाई भीमेश्वरको महाप्रसाद पठाइने  प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जानकारी दिए  । 

 शिलामा पसिना आएपछि प्रजिअ लगायत सुरक्षा निकायका प्रमुख मन्दिर परिसरमा पुग्नुभएको थियो ।  भीमेश्वर मन्दिर पुजा व्यवस्थापन समितिहरुसँग बैठक राखेर राष्ट्रप्रमुख समक्ष महाप्रसाद पठाउने चलन अनुसार आइतबार राष्ट्रपति कार्यालयमा प्रसाद पठाउने निर्णय गरिइएको बताइएको छ  । महाप्रसाद लिएर सहायक प्रमुख जिल्ला अधिकारी, गुठियार, सल्लाहाकार र जनप्रतिनिधि सहितको टोली आइतबार नै राष्ट्रपति कार्यालयमा जाने बताइएको छ ।