काठमाडौं - नेपाली कांग्रेसले पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगर्ने भएको छ ।

गत शुक्रबार र शनिबार पदाधिकारी बैठक राखेपछि पार्टीभित्रैबाट आलोचना खेपेका प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक अबदेखि पार्टी कार्यालय सानेपा वा सभापतिको निजी निवास बूढानिलकण्ठमा गर्ने बताएका छन्।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक सरकारी निवासमा गर्ने विगतको गलत परम्परा तोड्ने बताएका छन् ।

‘बिगतको गलत परम्परालाई तोड्दै अब देखि नेपाली काँग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारि निवास बालुवाटारमा नगरिने, साेही निर्णयको कार्यान्वयनको प्रारम्भ गर्दै भोलि साउन ८ गतेको पार्टी पदाधिकारि र पूर्ब-पदाधिकारिको बैठक, बुढानिलकण्ठमा बस्दै’ उनले ट्विटरमा लेखेका छन् ।