काठमाडौं - वीरगन्जमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो ।

भदौ ८ गते नारायणी अस्पताल भर्ना भएका धोविनीका ७२ वर्षीय वृद्ध पुरुषलाई निमोनिया भएको थियो । उनमा उपचारको क्रममा कोरोना पुष्टि भएको थियो । संक्रमण पुष्टि भएपछि कोरोना अस्पतालमा सार्ने तयारी गर्दैगर्दा उपचारको क्रममा बुधबार राति वृद्धको मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै, बिहिबार नै २३ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । ती महिलाको गर्भमा ३३ हप्ताको बच्चा रहेको अस्पतालले जनाएको छ।

श्वासप्रश्वासमा समस्या भएपछि ती महिलालाई भदौ ८ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो। उनलाई २४ घण्टादेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो। उपचारकै क्रममा बिहीबार बिहान उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।