काठमाडौं,एजेन्सी - जारी १६ औं संस्करणको युरोकप फुटबलमा स्पेन समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

सेभियामा बुधबार राति भएको खेलमा स्लोभाकियालाई ५-० गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम १६ मा प्रवेश गरेको हो ।

स्पेनलाई जित दिलाउन एम्रिक लापोर्ट,पाब्लो सराबिया र फेरान टोरेसले समान एक एक गोल गरे । स्पेनले दुई गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको १२ औं मिनेटमा स्पेनका अल्भारो मोराटाले पेनाल्टीमा गोल गर्न सकेनन् । मोराटाको पेनाल्टी प्रहार स्लोभाकियाका गोलकिपर मार्टिन डुब्राभ्काले बचाए ।

तर, खेलको ३० औं मिनेटमा गोलकिपर मार्टिनको आत्मघाती गोलबाट स्पेनले सुरुवाती अग्रता बनायो । स्पेनका पाब्लो सराबियाको प्रहार क्रसबारमा लाग्दै फर्किएको बल क्लियर गर्न्ने क्रममा मार्टिनले आफ्नै पोस्टमा गोल गरेका थिए ।

पहिलो हाफको इन्जुरी समयमा लापोर्टले गोल गर्दै पहिलो हाफमा स्पेनलाई २-० को अग्रता दिलाए । जेरार्ड मोरेनेको पासमा उनले हेड मार्फत् गोल गरेका हुन् । खेलको ५६ औं मिनेटमा सराबियाले जोर्डी अब्लाको पासमा गोल गर्दै स्पेनलाई ३-० को अग्रता दिलाए ।

६७ औं मिनेटमा टोरेसले गोल गर्दै स्पेनलाई ४-० को अग्रता दिलाए । त्यसपछि खेलको ७१ औं मिनेटमा स्लोभाकियाका जुराज कुच्काले आत्मघाती गोल गरेपछि स्पेनले ५-० को जित निकाल्यो । 

यससँगै समूह ‘ई’मा रहेको स्पेनले पहिलो जित समेत निकालेको छ । स्पेनले ३ खेलमा ५ अंक जोड्यो र समूहको दोस्रो स्थान हासिल गर्दै नकआउट चरणमा स्थान बनाउन सफल भयो । स्पेनले अब अन्तिम १६ मा क्रोएसियासँग प्रतिस्पर्धा गर्नेछ ।

पहिलो खेलमा स्पेन स्विडेनसँग गोलरहित बराबरीमा रोकिएको थियो । यस्तै, दोस्रो खेलमा स्पेनले पोल्याण्डसँग १-१ गोलको बराबरी खेलेको थियो ।स्पेनसँगको फराकिलो हारसँगै स्लोभाकिया समूह चरणबाटै बाहिरिएको छ ।