उपत्यकामा १६ गते बिहान ६ बजेबाट एकसाता ‘निषेधाज्ञा’: के खुल्छन्, के खुल्दैनन् ?
काठमाडौं - उपत्यकामा आगामी बिहीबारदेखि निषेधाज्ञा जारी हुने भएको छ।
सोमबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले पछिल्लोसमय बढ्दो कारोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै १६ गते बिहान ६ बजेबाट काठमाडौंमा एकसाता ‘निषेधाज्ञा’को आदेश जारी गर्ने निर्णय गरेको हो ।
उक्त अवधिमा यातायात, निजी व्यवसायिक प्रतिष्ठान, अत्यावश्यक सेवाबाहेकका सबै क्षेत्र बन्द हुनेछन् भने सार्वजनिक एवं नीजि सवारी साधन संचालनमा समेत रोक लगाइएको छ । वैशाख १६ गतेदेखि २२ गते राति १२ बजेसम्म बन्द हुनेछ ।
यस्तै, अत्यावश्यक सामान बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक अन्य सवारी साधन जिल्लामा आउन प्रतिवन्ध लगाइएको छ भने एम्बुलेन्स, खानेपानी, स्वास्थ्य, खाद्यान्न, तरकारी, फलफूल, दूध तथा दूग्धजन्य पदार्थ, बैंक, वित्तिय संस्था, दूरसंचार, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन लगायतका ढुवानी तथा यातायातका साधनमा विषय उल्लेख गरी संचालन गर्न पाउने छन् ।
आदेशअनुसार खाद्य सामग्रीको पसल विहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म खुला हुनेछ । डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष विहान १० देखि बेलुका ५ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।
यस्तै, सबै प्रकारका सभा सम्मेलन, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्रहालय, चिडियाखाना पनि बन्द गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस