काठमाडौं - गत एक सातामै १९ वर्षमुनिका २ हजार ५ सय ५६ जना किशोर-किशोरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो एक सातामा कुल २९ हजार ३ सय ७३ जना मानिसमा संक्रमण देखिएकोमा २५ सय बढी १९ वर्षमुनिका किशोर-किशोरी छन्। 

संक्रमणको नयाँ प्रकार (भेरियन्ट) बालबालिका र युवा उमेरका मानिसमा पनि उत्तिकै जोखिम रहेका कारण सो उमेर समूहका धेरै मानिसमा संक्रमण देखिन थालेको बताइएको छ। 

नेपालमा यसअघि यति धेरै किशोरकिशोरी र बालबालिकामा संक्रमण देखिएको थिएन। तर यसपटक भने संक्रमण देखिने मात्र हैन अस्पताल भर्ना हुनेमा पनि बालबालिका र युवा उमेरका मानिस पनि धेरै छन्।