यसकारण टुट्यो कार्तिक र साराको मित्रता
एजेन्सी - बलिउडमा चलचित्रको प्रचार प्रसारका क्रममा अभिनेता अभिनेत्रीका बीचको सम्बन्धलाई लिएर खुबै हल्ला गरिन्छ । प्रचारका बीचमा कलाकारबिच प्रेम हुन्छ र चलचित्र रिलिजपछि त्यो सम्बन्ध टुंगिन्छ । खासमा यो मसला चलचित्रको व्यापारिक प्रयोजनका लागि गरिएको एक स्टन्ट मात्र हो ।
एकताका अभिनेता कार्तिक आर्यन र अभिनेत्री साराअली खानको प्रेम चर्चाले बलिउडमा निकै गर्मी बढ्यो । करण जोहरका कार्यक्रम ‘कफि विथ करण सो’ मा अभिनेत्री साराले आफू कार्तिकसँग डेट जान चाहेको बताइन् । यसपछि सुरु भएको उनीहरुको मित्रता र प्रेम चर्चा बलिउडमा निकै भयो । अहिले उनीहरु बीचको यो चर्चा एकाएक सेलाएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार चलचित्र रिलिजपछि कार्तिक र साराको प्रेम टुटेको र उनीहरुले एक अर्कासँग दुरी बनाउन थालेका छन् । यस्तै उनीहरुले एक अर्कालाई इन्स्टाग्राममा समेत साथी नबनाउने निर्णय गरेको खबर बाहिरिएको छ । पछिललो समय उनीहरु दुवैले एक अर्कालाई अनफलो गरिरहेका छन् । उनीहरु एक अर्काको कुनै पनि गतिविधिमा सरोकार नराख्ने सोचमा पुगेको बुझ्न सकिन्छ । बलिउडमा यस्ता कैयौं जोडी छन्, जसको प्रेम चलचित्र रिलिजको समयमा चल्ने र रिलिजपछि टुट्ने गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस