रुकुमपूर्व - नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले जनयुद्ध सुरू भएको ऐतिहासिक भूमि रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउने भएको छ।

जनयुद्ध दिवसको अवसरमा शहीद तथा बेपत्ता परिवार, घाइते, अपाङ्ग र स्थानीय जनसमुदायसँग एकता प्रदर्शन गर्दै दिवस मनाउन पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार साँझ रुकुमपूर्व आइपुगेका छन्।

विसं २०५२ फागुन १ गते तत्कालीन नेकपा (माओवादी) ले राजतन्त्र अन्त्य गरी नयाँ जनवादी व्यवस्था स्थापना गर्ने उद्देश्यसहित जनयुद्धको सुरुआत गरेको थियो। उक्त सशस्त्र संघर्ष दश वर्षसम्म चलेको थियो।

जनयुद्धका प्रमुख नेता प्रचण्ड पहिलोपटक रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउन सहभागी हुन आएका हुन्। संघीय संरचनापछि बनेको कान्छो जिल्ला रुकुमपूर्वलाई जनयुद्धको उपलब्धिको प्रत्यक्ष परिणामका रूपमा लिइन्छ।

संघीयताले जन्माएको यही जिल्लाबाट प्रचण्ड प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका छन्।

नेकपा रुकुमका अनुसार आज भूमे गाउँपालिका–२ खाबाङ बगरमा आयोजना हुने जनयुद्ध दिवस कार्यक्रममा संयोजक प्रचण्डले शहीद परिवारलाई सम्मान गर्ने कार्यक्रम तय भएको छ।

रुकुमपूर्वमा जनयुद्धका क्रममा २५२ जना शहीद भएको तथ्यांक रहेको छ ।