काठमाडौं - सत्ता साझेदार दलहरूको आज बस्दैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने तय भएको हो ।

यद्यपि मन्त्रिपरिषद् बैठक समेत सोही समयमा रहेकाले उक्त समय फेरबदल हुनसक्ने बताइएको छ । सरकारको कामको मूल्याङ्कन, सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम बनाउने लगायतका विषयमा छलफल गर्न सत्ता साझेदार दलको बैठक बोलाइएको बताइएको छ ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो। सोही छलफलअनुसार सत्तामा रहेका दलहरूको बैठक बोलाइएको हो ।

आइतबारको छलफलमा प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति देउवासहित नेकपा एमालेका महासचिव शंकर पोखरेल, गृह मन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेल सहभागी थिए ।