काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको बस धनुषामा पल्टियो, १७ यात्रु घाइते
जनकपुरधाम - धनुषाको मिथिला नगरपालिका-९ स्थित फुटबल ग्राउण्ड नजिक पूर्व–पश्चिम लोकमार्गमा आइतबार बिहान दुई बस एकआपसमा ठोक्किँदा १७ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका निमित्त कार्यालय प्रमुख डीएसपी गणेश बहादुर बमका अनुसार बिहान करिब ५:५० बजे काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको प्र १-०१-००१ ख ४२२४ नम्बरको बसलाई सोही दिशाबाट काँकडभिट्टातर्फ जाँदै गरेको बा.प्र.०१-००६ ख ५२३७ नम्बरको बसले ओभरटेक गर्ने क्रममा पछाडिबाट ठक्कर दिएको थियो।
ठक्करपछि बा.प्र.०१-००६ ख ५२३७ नम्बरको बस अनियन्त्रित भई सडकमा पल्टिएको हो।
दुर्घटनामा बसमा सवार करिब ३३ यात्रुमध्ये १७ जना घाइते भएका छन्। घाइतेहरूको लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ। अधिकांश घाइतेको अवस्था सामान्यदेखि मध्यम रहेको प्रहरीले जनाएको छ ।
घटनामा घाइते हुनेमा चालक मकवानपुर हेटौंडाका ४३ वर्षीय विष्णु विष्ट, भारत असमका बिराज शेख, सतन शेख, अफताब अन्सारी, सुनसरीका सुजन यादव, उदयपुरका अजय काफ्ले, काठमाडौंकी रिद्धी खड्की, सरन खड्की, धनुषाकी ललिता भुजेल, सर्लाहीका दिजेन्द्र न्यौपाने, सहचालक मुकेश साह, तेह्रथुमकी कविता भुजेल, धरानकी मेरी राई, झापाका न्युसन थापा, सुनसरीका राजकुमार उरौ, सिरहाका रतनदेव मण्डल तथा संतोषी उरौ रहेका छन्।
प्रहरीका अनुसार प्र १-०१-००१ ख ४२२४ नम्बरको बसमा सामान्य क्षति पुगेपछि उक्त बस गन्तव्यतर्फ गएको छ। ५२३७ नम्बरको बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस