काठमाडौं - क्याटलान क्लब बार्सिलोनाले जोन ग्याम्पर ट्रफीको उपाधि हात पारेको छ । गएराति भएको खेलमा इटालियन क्लब युभेन्ट्समाथि ३-० को जित निकाल्दै बार्सिलोना च्याम्पियन बनेको हो । 

खेलको तेस्रो मिनेटमा नै गोल गर्दै मेम्फिस डिपेले बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । उनी यसै सिजन फ्रान्सेली क्लब लियोनबाट बार्सिलोना आएका हुन् । ५७औं मिनेटमा मार्टिन ब्रेथवेटले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । खेलको अतिरिक्त समयमा सब्सिच्युट रिकी पुचले गोल गर्दै बार्सिलोनालाई ३–० को सहज जित दिलाए । 

यता, युभेन्ट्सले आफ्ना स्टार क्रिस्टियानो रोनाल्डो, अल्भारो मोराटा लगायतलाई मौका दिएपनि सदुपयोग गर्न सकेनन् । बार्सिलोनाले नयाँ सिजनको ला लिगा खेल्नुअघि हरेक वर्ष जोन ग्याम्पर कप आयोजना गर्ने गर्दछ ।