एजेन्सी - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ लाई दिँदै सहयोग रकम रोक्ने घोषणा गरेका छन् ।

पछिल्लो समय डब्ल्यूएचओसँग विवाद चुलिरहेको बेला ट्रम्पले प्रशासनलाई रकम नदिन निर्देशन दिएका हुन् ।

'डब्ल्यूएचओले कोरोनाभाइरस संक्रमण रोक्नका लागि आधारभूत काम गर्न पनि असफल भयो' ट्रम्पले भने, ‘जब चीनबाट कोरोनाभाइरसको संक्रमणको सुरुवात भयो तब संयुक्त राष्ट्रको यो संगठनले यसलाई सम्हाल्न असफल रह्यो र वास्तविक तस्बिर लुकाइरह्यो ।’

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई सबैभन्दा धेरै रकम दिँदै आएको छ । गत वर्ष अमेरिकाले संगठनलाई ४० करोड डलर दिएको थियो ।

ट्रम्पले भने, ‘अमेरिकाले विश्व स्वास्थ्य संगठलाई हरेक वर्ष ४० देखि ५० करोड डलर दिन्छ जबकी चीनले चार करोड मात्रै दिन्छ । संगठनले यदि चीनमा गएर स्थिती हेरेको भए र त्यहाँको स्थितीबारे पारदर्शी ढङ्गले जानकारी दिएको भए अहिले जस्तो भयावह स्थिती छ त्यो कहिले पनि निम्तिने थिएन ।’

ट्रम्पले कोरोनाभाइरस संक्रमण रोक्नका लागि विश्व स्वास्थ्य संगठनको कस्तो भूमिका रह्यो त्यसको समीक्षा पनि गरिने जानकारी दिए ।