काठमाडौं-वैशाख १० मा हुने बारा-२ र तनहुँ-१ को उपनिर्वाचनका लागि २६ राजनीतिक दल दर्ता भएका छन्। 

निर्वाचन आयोगमा ११७ राजनीतिक दल दर्ता भए पनि वैशाख १० गते हुने बारा र तनहुँको उपनिर्वाचनका लागि २६ दलमात्र दर्ता भएका हुन्। आयोगले तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल र बारा-२ बाट निर्वाचित रामसहाय यादव राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित भएसँगै वैशाख १० का लागि उपनिर्वाचन मिति घोषणा गरेको थियो।

यस्तै नागरिकता विवादमा सांसद पद गुमाएका रवि लामिछानेको क्षेत्र चितवन २ मा पनि वैशाख १० मै उपनिर्वाचनको घोषणा गरिसकेको छ। चितवन-२ मा १८ दल भएका छन्।

निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताका लागि यही चैत ८ देखि १२ सम्मका लागि दर्ताको समय दिएको थियो।

तीनवटै क्षेत्रमा मतदान सम्पन्न भएको एक साताभित्र नतिजा सार्वजनिक गरिसक्ने आयोगले जनाएको छ।